९७६८९९१०१४, ९७०५४७४३३९
Ear (कान)

प्रेस्वाअकुसिस (Presbycusis): उमेरसँग सम्बन्धित श्रवण शक्तिमा कमी आउने अवस्था

By Clinical Team May 18, 2026 ⏱️ 1 Min Read

उमेर बढ्दै जाँदा क्रमिक रूपमा श्रवण शक्ति गुम्ने अवस्थालाई प्रेस्वाअकुसिस भनिन्छ। सामान्यतया ४० वर्षको उमेर पछि कानको महत्वपूर्ण भित्री भाग 'कोक्लिया ' मा आउने परिवर्तनले गर्दा क्रमिक रूपमा श्रवण शक्ति कम हुँदै जान्छ। सुरुमा तीखो आवाज सुन्न कम हुँदै केही वर्षमा पुरै फ्रिक्वेन्सीको आवाज सुन्न गाह्रो पर्छ। यसको समस्याको गम्भीरता मानिस अनुसार फरक फरक हुन्छ।

यसका लक्षणहरू:

  • दुवै कानमा समान रूपले बिस्तारै श्रवण शक्ति ह्रास हुने।
  • सुन्न सक्ने तर सुनेको वाक्य बुझ्न कठिनाइ हुने। 
  • सामूहिक छलफलमा बुझ्न कठिनाइ हुने।
  • कान बज्ने समस्या हुने।
  • सानो स्वरले बोलाउँदा प्रतिक्रिया नदिने, ठूलो स्वरले बोलाउँदा कति ठूलो बोलेको भनी प्रतिक्रिया दिने।

समस्याको समाधान

  • यस समस्याले दैनिक जीवन चलाउन असर पर्दैन भने सुन्नमा ध्यान दिई बुझ्न प्रयास गर्ने।
  • समाजले पनि यस्ता समस्याबारे बुझेर श्रवणको समस्या भएकासँग बिस्तारै, अनुहार अगाडि बसेर, स्पष्ट रूपमा बोल्ने बानी गर्नुपर्छ।
  • श्रवणको समस्या भएकाहरूले ओठ चलाएको पढेर बुझ्ने भएकाले कुराकानी गर्दा मास्क नलगाई कुरा गर्नुपर्छ।
  • सुनाइमा धेरै समस्या भएर सुन्न र बुझ्न कठिनाइ भएमा उपयुक्त श्रवण यन्त्रको सही प्रयोग गरेर समस्याको समाधान गर्न सकिन्छ। 
  • श्रवण यन्त्रले समस्या समाधान नभएमा वा श्रवण यन्त्रले पनि सुनाइमा सुधार नहुनेलाई 'कोक्लियर इम्प्लान्ट' जस्ता आधुनिक यन्त्रको जडान गरेर सुन्न सकिने बनाउन सकिन्छ।
  • धेरैले यस समस्यालाई "कानको नसा सुकेको" भन्ने चलन छ जुन साँचो होइन। यसमा सुन्ने नशा "कोक्लियर नर्भ" सुकेको हुँदैन।